संगठनको निर्णय विपरित जानेलाई युनियनले कारवाही गर्ने : अध्यक्ष राजभण्डारी

मुरली गोडिया, गुलरिया ।
नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष विनय राजभण्डारीले संगठनको निर्णय विपरित जाने सदस्यहरुलाई युनियनले कारवाही गर्ने बताएका छन । युनियन बर्दिया शाखाको भेलामा अध्यक्ष राजभण्डारीले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा संगठनको निर्णय नमान्ने र वागी उम्मेदवारहरुलाई केन्द्रको निर्देशन अनुसार रातो कलम चलाउने जानकारी दिए । ‘युनियनको नेतृत्वमा अन्य संगठनहरुको सहकार्य केन्द्रको नितिको आधारमा हुन्छ ।’ उनले भने ‘उम्मेदवारका आकांक्षीहरुले साथीहरुको मन जित्ने कार्य तर्फ लाग्नुपर्छ । हामी सबैको उचित मूल्यांकन गरेर उम्मेदवार छनौट गर्छौ ।’
प्रेस युनियन केन्द्रिय समितिको सर्कुलर आएपछि आसन्न नेपाल पत्रकार महासंघ बर्दियाको लागि आधिकारिक उम्मेदवार घोषणा गरिने बताउँदै उनले युनियनको मूल्यांकनले संगठनको हित र श्रमजिविको पक्षमा वकालत गर्न सक्ने सक्षम प्रतिवद्ध पत्रकारलाई युनियनका तर्फबाट उम्मेदवारका रुपमा खडा गरिने प्रष्ट्याए । केन्द्रले उम्मेदवार छनोटको जिम्मेवारी जिल्ला शाखालाई दिएकाले महासंघका पूर्व अध्यक्षहरु, युनियनमा आवद्ध पत्रकारहरुको राय सुझावका आधारमा महासंघमा दिईने अध्यक्ष लगायतका उम्मेदवारी तय गरिने उनको भनाई छ ।

भेलामा सहभागी पत्रकारहरुले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा प्रेस युनियनलाई बलियो बनाएर लैजानु पर्ने सुझाव दिएका छन् । भेलामा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल, प्रेस युनियन बर्दियाका सल्लाहकार दिपकलाल श्रेष्ठ, प्रेस युनियनका सदस्य योगेन्द्र बजगाई, यादव आचार्य, यम घिमिरे, दिपक शर्मा लगायतले एकजुट भएर अघि बढनुपर्ने बताएका हुन ।
प्रेस युनियन बर्दियाका सचिव दुर्गा आचार्यले संचालन गरेको भेलामा उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।