बाँकेमा बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो पालिका बन्यो खजुरा

बालविवाह मुक्त घोषणा गरेको प्रमाणपत्र खजुरा गाउँपालिकाको वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमलाई हस्तान्तरण गर्दै जिसस बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव  र खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक । फोटो : मेरो खुसी

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले जिल्लामै पहिलो पटक वडालाई बालविवाह मुक्त घोषणा गरेको छ ।
१११ औं नारी दिवसको अवसरमा सोमबार खजुरामा आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा गाउँपालिका अध्यक्ष किश्मतकुमारले खजुराको वडा नं. ३ लाई बालविवाह मुक्त घोषणा गरेका हुन् । वडालाई बालविवाह मुक्त घोषणा गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेको बालविवाह रोकथाम परियोजनाले सघाएको थियो ।
अध्यक्ष कक्षपतिले गाउँपालिकाका बाँकी रहेका वडाहरुलाई पनि चाँडै बालविवाह मुक्त घोषणा गर्दै गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जिसस प्रमुख श्रीवास्तवले जिल्लामै पहिलो पटक बालविवाह मुक्त वडा घोषणा गरेर खजुरा गाउँपालिकाले सामाजिक विकासको इतिहास रचेको भन्दै प्रशंशा गरेका थिए ।
खजुरा–३ का वडा अध्यक्ष कान्तुराम गौतमको अध्यक्षतामा सम्पन्न बालविवाह मुक्त घोषणा कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, प्लान इन्टरनेशनल नेपालकी कर्णाली प्रदेश संयोजक मीना पराजुली, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, खजुरा गाउँपालिका कानुनी सल्लाहकार विकास आचार्य, वडा सदस्य देउमाया थापा मगर, लगनशील किशोरी क्लबकी अध्यक्ष मञ्जु थापा मगरलगायतले बालविवाहविरुद्ध धारणा राखेका थिए । कार्यक्रमका सहभागीले आफूले बालविवाहविरुद्ध लाग्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर पनि गरेका थिए ।

बालविवाह मुक्त वडा घोषणा हुनु अघि -याली निकालिएको थियो । -यालीले खजुरा बजार परिक्रमा गरेको थियो ।