एपीएफ र नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्ज : ७औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टीम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।
लिग चरण अन्तर्गत सोमबार भएको पहिलो खेलमा एपीएफ क्लबले न्यु डाइमण्ड र नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लब पराजित गरेको थियो । योसँगै अब एपीएफ र पुलिस क्लबबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । सोमबारको पहिलो खेलमा एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–१ ले जित निकालेको थियो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७, २५–२२ अंक अन्तर पार्दै जित हात पार्न सफल भयो । न्यु डायमण्डले पहिलो सेटमा २५–२३ को जित हासिल गरे पनि त्यो जितलाई कायम राख्न नसक्दा हार्नु परेको थियो । र उक्त खेलमा एपीएफकी विना बुढाथोकी म्यान अफ द म्याच भइन् ।
त्यस्तै सोमबार भएको दोस्रो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकाल्दै उपाधिको दाबेदार बनाएको छ । खेलमा पुलिस क्लवले त्रिभुवन आर्मीलाई ३–१ सेटमा हराउँदै आगामी यात्रा तय गरेको हो । नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवलाई २५–१५, २७–२५ र २५–२३ अंक अन्तरमा पराजित गरेको छ । आमीले दोस्रो सेटमा २५–१५ को जित मात्र निकालेको थियो । खेलमा नेपाल पुलिस क्लवकी मनिषा चौधरी म्यान अफ द म्याच घोषित भइन् ।