नेपालगन्जमा गर्मी बढ्यो, तापक्रम ३४ डिग्री

३ दिनदेखि नेपालगन्जको औसत तापक्रम ३३.५ डिग्री सेल्सियस
नेपालगन्जको गणेशमान चोकमा उखुको जुस पिउँदै ३ किशोरी । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँकेमा गत वर्षभन्दा छिटो गर्मी बढेको छ ।

यो वर्ष नेपालगन्जमा अधिकतम् तापक्रम झन्डै ३४ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम १९.५ डिग्रीसेल्सियससम्म पुगेको छ । बुधबारदेखि शुक्रबारसम्म तीन दिनको तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागको राँझास्थित जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार बुधबार ३३.२, बिहीबार ३३.८ र शुक्रबार ३३.४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । बिहीबारको तापक्रम यो वर्षकै सर्वाधिक हो । गत वर्ष मार्च महिनाको अन्तिमसम्म अधिकतम् तापक्रम ३२.७ मात्र थियो ।