धम्बोझी क्लबले गण्डकीलाई जित्दा नेपालगन्जका कुनै खेलाडीले खेल्न पाएनन्

एन्फा प्रेसिडेन्ट लिगमा ७ वटै टिममा औसत रुपमा ‘ए’ डिभिजनका ३५, ‘बी’ डिभिजनका ५० र ‘सी’ डिभिजन र क्लबका १५ प्रतिशत खेलाडी प्रतिष्पर्धामा

शंकरप्रसाद खनाल । नेपालगन्ज
एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको दोस्रो दिन नेपालगन्ज रंगशालाको भीआइपी प्याराफिट करिब करिब भरिभराउ थियो । अघिल्लो दिनभन्दा हुटिङ पनि अलि चर्कै भयो । कारण थियो, नेपालगन्जको धम्बोझी क्लब खेल्दै थियो । घरेलु मैदानको फाइदा उठाउँदै धम्बोझीले त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको चर्चा भयो । तर धम्बोझीको टिमले नेपालगन्ज रंगशालामा २ पटक र नेपालगन्ज १ स्थित कोर्टमा ३ पटक मात्र संयुक्त अभ्यास गर्न पाएको थियो । लुम्बिनी प्रदेशको च्याम्पियन बनेको र क्लब नामको आधारमा घरेलु मैदान भए पनि अधिकांश खेलाडीका लागि यो मैदानमा नौलो अनुभव नै थियो । धम्बोझीका लागि पूर्णबहादुर गुरुङले ४२औं मिनेटमा गरेको एक मात्र गोल जितका लागि निर्णायक भयो । गोलकर्ता गुरुङ नेपालगन्जका खेलाडी थिएनन्् । त्यसो त धम्बोझी क्लबको टिममा नेपालगन्जका खेलाडी ५ जना मात्रै अटाएका छन् । लुम्बिनीका प्रशिक्षक भद्रसिंह थापाका अनुसार धम्बोझी क्लबबाट नरेन्द्र शाह (डिफेन्स), मनिष थापा (डिफेन्स), सञ्जीव थापा (मिडफिल्ड), खेमबहादुर थापा (डिफेन्स) र निर्जल शाह (किपर) टिममा छन् । मंंगलबारको खेलमा ती सबै प्रतिक्षा सूचीमा थिए । आफ्नो क्लबको जितमा रमाइरहेका थिए । प्रशिक्षक बुढथापाका अनुसार धम्बोझी क्लबको टिममा ‘ए’डिभिजनका ४, ‘बी’ डिभिजनका ६, ‘सी’ डिभिजन र क्लब स्तरका ८ खेलाडी छन् । ‘मोफसलका क्लबलाई राष्ट्रिय प्रतियोगिता खेलाउने भनियो । जित्नका लागि डिभिजन क्लबाट खेलेका खेलाडी राखिएको छ । खेल जित्ने नाममा क्लब र प्रदेशको नाम मात्र राखिएको छ’, प्रशिक्षक थापाले गुनासो गरे ।

‘एन्फा प्रेसिडेन्ट लिग’ प्रतियोगितामा सुदूरपश्चिम (निलो) र प्रदेश २ (सेतो) का खेलाडी प्रतिष्पर्धामा । फोटो : मेरो खुसी

सोमबारको उद्घाटन खेलमा सुदूरपश्चिम स्टारसिटी युवा क्लब (कैलाली) ले प्रदेश–२ को मनकामना युवा क्लब (रौतहट) लाई ३–० को अन्तरले पराजित गर्दै विजयी सुरुवात ग¥यो । नेपालगन्ज रंगशालामा भएको खेलमा स्टारसिटीलाई जिताउन २ गोल गर्ने खेलाडी रुपबहादुर लामा ललितपुरको जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन खेल्छन् । सुदूर प्रदेशको च्याम्पियन बनेको स्टार सिटीबाट यो प्रतियोगितामा जम्मा ९ जना खेलाडी मात्र सहभागी हुन पाए । ७ जनाले खेले । टिममा लामासँगै गोलकिपर, मिडफिल्डर, डिफेन्स र सेन्टर फरवार्ड खेल्ने ४ जना खेलाडी ‘ए’ डिभिजनको अनुभव संगालिसकेका छन् । बाँकी खेलाडी ‘सी’डिभिजन र अन्य क्लब स्तरका हुन् । ‘टिमलाई तालिम नै दिन पाएनौं । एक्कासी खेलाउनु प¥यो । खेलको तालमेल नै मिलेन’, सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले भने, ‘बाहिरबाट आएका खेलाडीलाई तालिम बिना नै खेलाउँदा खेल राम्रो भएन । सबैले क्लब स्तरका खेलाडी मात्र खेलाएको भए हाम्रो खेल अझ राम्रो हुन्थ्यो ।’
पहिलो खेलमै हार बेहोरेको मनकामना युवा क्लबका त झन नयाँ र पूराना खेलाडीबीच तालमेल नै नमिलेको स्पष्ट झल्कन्थ्यो । पास पनि राम्रो थिएन । डिफेन्स पनि प्रभावकारी हुन सकेन । प्रदेश २ का प्रशिक्षक श्याम सुन्दर सिंहले दुःखेसो पोखे, ‘हाम्रोमा ‘ए’ डिभिजन खेलेका एउटा पनि खेलाडी छैनन् । ‘बी’ डिभिजनका ६ जना छन् । नयाँ खेलाडीको टिम बनाउँदा डिफेन्स नै कमजोर भएर हार्नु प¥यो ।’ प्रदेश २ च्याम्पियन बनेको मनकामना क्लबका ६ जना खेलाडीले मात्र प्रतियोगितमा भाग लिन पाए । ५ जनाले मात्र खेले ।
कैलाली र रौतहट मात्र होइन, ७ वटै प्रदेशका च्याम्पियन बनेका क्लबको नाम मात्रको प्रतिनिधित्व भएको छ । एन्फा प्रेसिडेन्ट लिगबाट मोफसलका टिमलाई राष्ट्रियस्तरमा खेलाउने सुन्दर अवधारणा अब जित्नका लागि मात्र क्लब वा टिमको प्रतिनिधित्व हुने भएको छ । जितका लागि सबै क्लब र टिमले डिभिजन लेभल खेलेका खेलाडीलाई पारिश्रमिक दिएर ल्याएका छन् । उनीहरुले एउटा खेल खेले वापत कम्तीमा ५ हजार रुपैयाँ तिरेका छन् ।
एन्फाका सहायक महासचिव भरतबहादुर बुढथापा प्रतियोगितामा कम्तीमा हरेक टिममा औसत कम्तीमा पनि ३५ प्रतिशत ‘ए’ डिभिजनका, ५० प्रतिशत ‘बी’डिभिजनका र बाँकी १५ प्रतिशत खेलाडी मात्र ‘सी’डिभिजन र क्लब स्तरबाट प्रतिनिधित्व भएको आँकलन गर्छन् । भन्छन्, ‘जिल्ला स्तरका खेलाडीले ‘ए’डिभिजन स्तरका खेलाडीसँग खेलेर राष्ट्रिय खेल र व्यवसायिक प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । यसलाई उपलब्धी नै मान्नुपर्छ ।’
एन्फाका केन्द्रीय अध्यक्ष कर्र्मा छिरिङ शेर्पाले मोफसलका टिम र खेलाडीलाई राष्ट्रिय स्तरको प्रतियोगितामा खेलाउन पहिलो पटक ‘एन्फा प्रेसिडेन्ट लिग’ सुरु गरेको बताउँछन् । यो प्रतियोगिता गर्नुलाई केन्द्रीकृत खेललाई विकेन्द्रकरण गरेको बताउने अध्यक्ष सोनामले पनि मोफसलको सम्पूर्ण प्रतिनिधित्व नभएको स्वीकारे । उनले भने, ‘काठमाडौंमा मात्र सिमित फुटबलको राष्ट्रिय प्रतियोगितामा अहिले मोफसलको प्रतिनिधित्व भएको छ । अहिले सुरुवात भयो । पूर्ण रुपमा मोफसलको प्रतिनिधित्व हुने अवधारणा विस्तारै कार्यान्वयन हुँदै जानेछ ।’