पत्रिकाको समाचारले हराएको २० वर्षपछि परिवारसँग भेट

पीडित विज्ञान कोइरालालाई भाइ सुवास कोइरालासँग घर पठाउँदै बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना । फोटो सौजन्य : जिप्रका बाँके

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले २० वर्षदेखि हराइरहेका एक जना व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराएको छ ।
खोटाङको चिसापानी घर बताउने वर्ष ३४ का विज्ञान खत्रीबारे नेपालगन्जबाट प्रकाशित हुने पत्रिका कालपृष्ठ दैनिकको २५ चैत्रको प्रथम पृष्ठमा ‘२४ वर्षदेखि एउटै कोठामा बन्धक, यौन शोषणसहित चरम यातना’ शीर्षकको समाचार वीरेन्द्र जैसीले प्रकाशित गरेपछि प्रहरीले परिवारको खोजी सुरु गरेको थियो ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अनुसन्धानबाट मात्र उनी खत्री नभएर कोइराला भएको पुष्टि भएको बताए । उनको ठेगाना भने साबिकको चिसापानी गाविस–१ र हाल जन्तेढुङ्गा गाउँपालिका–५ घर भइ अहिले परिवार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा बसोबास गरेको खुलेको थियो । नेपालगन्जबाट उद्दार गरी प्रहरीले निलसागर निलसागर असाहय, अशक्त तथा जेष्ट नागरिक सेवा केन्द्रमा राखेको थियो । एसी रानाले पीडित कोइरालाका भाइ सुवास कोइराला सम्पर्कमा आएपछि सोमबार जिम्मा लगाएर घर पठाउने व्यवस्था गरिएको बताए । शरीर बन्धक बनाएकोबारे भने अहिले जाहेरी लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।