पत्रकारत्रय सुवेदी, बस्नेत र गहतराजलाई सम्मान

खजुराखुर्द (बाँके) : बाँकेको जानकी गाउँपालिकाले ३ जना पत्रकारलाई सम्मान गरेको छ ।
मंगलबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजना गरेको वडा नं. ४ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रमको अवसरमा बालविवाहविरुद्ध समाचार लेखेर योगदान गरेको भन्दै नेपाल टेलिभिजनका संवाददाता रुद्र्र सुवेदी, कान्तिपुर दैनिकका संवाददाता रुपा गहतराज र हाम्रो समाचार दैनिकका सम्पादक भेषराज बस्नेतलाई सम्मान गरेको हो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँके, किशोरी क्लब, बाल क्लबलगायतका एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो । जानकी गाउँपालिकाको वडा नं. ४ पनि मंगलबार बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल र वडा नंं. ४ का वडा अध्यक्ष विसराम वर्माले संयुक्त रुपमा वडालाई बालविवाह मुक्त घोषणा गरेका थिए । यसअघि खजुरा–३, बैजनाथ–१, कोहलपुर–१२ र १३ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । जिल्लामा बालविवाह मुक्त वडा घोषणाका लागि प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा स्याक नेपाल बाँकेले २ वर्षदेखि जिल्लाका ८ वटै स्थानीय तहमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।