बर्दियाका ८ सहित थप १५ को मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणबाट बाँकेका अस्पतालमा उपचार गराइरहेका थप १५ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार दिउसो ४:३० देखि मंगलबार बिहान ११ बजेसम्म बर्दियाका ८, बाँकेका ५, रुकुमपूर्व र कन्चनपुरका एक एक जना गरी १५ जनाको मृत्यु भएको हो ।
बर्दियाका मृतकमध्ये बाँसगढी नगरपालिकाका ३ जना छन् । जसेमध्य बाँसगढी नगरपालिका ९ का ७३ वर्षिय पुरुष, वडा नम्वर ५ का ६० वर्षिय पुरुष र वडा नखुलेका ४२ वर्षिया महिला रहेका छन् । त्यस्तै, बढैयाताल गाउँपालिका–३ का ७८ वर्षिया महिला र वडा नम्वर १ का ८५ वर्षिय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै, गुलरिया–६ का २१ वर्षिय पुरुष, बारबर्दिया–६ का ६३ वर्षिया महिला र ठाकुरवावा ३ का ४५ वर्षका पुरुष गरी मंगलबार सबैभन्दा बढी बर्दियाका संक्रमितको ज्यान गएको हो ।
त्यस्तै, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० का ६८ वर्षिय पुरुष, खजुरा गाउँपालिका–३ का ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ का ४५ वर्षिया महिला, होम आइसोलेसनमा बसिरहेका खजुरा गाउँपालिका–२ का ८८ वर्षिय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षिय पुरुषको समेत कोरानाका कारण निधन भएको छ ।
यसैगरी, सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षिय पुरुष र कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ३ का ६१ वर्षिय पुरुषको समेत कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिर बाट आएका १ सय ५१ जना र बाँकेकै १ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।