नेपालगन्जका २३ वटै वडामा विशेषज्ञ डाक्टरबाट परामर्श सुरु

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २३ वटै वडामा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा सुरु गरेको छ ।
उपमहानगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपाल चिकित्सक संघसँगको सहकार्यमा होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य समस्या बारेमा थप परामर्श सुरु गरेको बताए । उनले यसपटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको जानकारी दिए । उनले भने,– कोभिडविरुद्ध लड्न सबै पक्षबीच सहकार्य हुन जरुरी छ । कार्यक्रममा उपमहानगरका प्रवक्ता प्रमोद रिजाल र स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नगरमा कोरोना रोकथाममा भएका प्रयासका बारेमा जानकारी गराएका थिए । स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरसफाईकर्मी गरि १५९ जनामा कोभिड संक्रमण भएको, १ जना जनप्रतिनिधी र २ जना कर्मचारी गरि ३ जनाको निधन भएको कार्यक्रममा जानकारी दिइयो । उपमहानगरपालिकामा ८ हजार २ सय जना कोरोना संक्रमित भएकोमा ६५ जनाको निधन भएको छ । नेपालगन्जको वडा नम्बर १३ र १८ मा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् ।