बाँकेमा कोरोना संक्रमण : गाउँमा भन्दा शहरमा बढी

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण ग्रामिण ईलाकामा भन्दा शहरी क्षेत्रमा बढी भएको पाईएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण तिब्ररुपमा फैलिएपछि जिल्लाका ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्र बढी प्रभावित बनेका   हुन । संक्रमण बढेसंगै मृत्युदर पनि शहरी क्षेत्रमा धेरै भएको पाईएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लामा हालसम्म कुल १५ हजार १ सय ६९ संक्रमित हुँदा ८ हजार ५३७ जना नेपालगन्जका मात्रै छन । यो जिल्लाका कुल संक्रमितको ५६.२७ प्रतिशत हो । यस्तै मृत्यु पनि अन्य पालिकाको तुलनामा नेपालगन्जमा धेरै भएको छ । जेठ २ गतेसम्म बाँकेमा २ सय ३३ जनाको मृत्यु हुँदा नेपालगन्जका मात्र १ सय २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । यो जिल्लाका कुल मृतक संख्याको ५१.५० प्रतिशत हो ।
नेपालगन्जपछि बढी प्रभावित कोहलपुर नगरपालिका भएको पाईएको छ । कोहलपुरमा कुल ३ हजार ४८३ जना संक्रमित हुँदा ५१ जनाले ज्यान गुमाएका छन । कोहलपुरमा जिल्लाका कुल संक्रमितको २३.६२ प्रतिशत र मृत्यु करिव २२ प्रतिशतको भएको छ ।
यस्तै खजुरा गाउँपालिकामा हालसम्म ९ सय ७३ जना संक्रमित हुँदा २६ जनाको मृत्यु भएको छ । जिल्लाका कुल संक्रमितको ६.४१ प्रतिशत खजुरामा संक्रमित हुँदा ११ प्रतिशतको मृत्यु भएको छ । खजुरापछि संक्रमित बढी हुनेमा बैजनाथ गाउँपालिका छ । बैजनाथमा ७ सय ३ संक्रमित हुँदा १९ जनाको ज्यान गएको छ । हालसम्म सबैभन्दा कम संक्रमित नरैनापुर गाउँपालिकामा १ सय ८४ जना छन भने मृत्यु सबैभन्दा कम डुडुवा गाउँपालिकामा तीनजनाको भएको छ ।
गतबर्ष २०७७ वैशाख १९ गतेदेखि बाँकेको जोलहनपुर्वामा पहिलो संक्रमित देखिएयता चैत्र मसान्तसम्म जिल्लामा चार हजार ९ सय ५८ जना संक्रमित रहेका थिए भने ५८ जनाको मृत्यु भएको थियो । त्यसयता हाल २०७८ बैशाखमा मात्र संक्रमितको संख्या गतबर्षको भन्दा दोब्बर छ भने मृतकको संख्या झण्डै तेब्बर छ । यसबर्ष वैशाख यता जेठ २ गतेसम्म १० हजार ५ सय ७६ जना संक्रमित भएका छन भने एक सय ७९ जनाले ज्यान गुमाईसकेका छन ।