नागरिकको चेतावनी, ‘नो खोप, नो भोट’

काठमाडौं : कोरोना महामारीकै बेलामा निर्वाचन घोषणा गरिए पनि सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन्। ‘भोट हाल्न भीडमा जानुपर्छ, त्यसभन्दा पहिला सबैले खोप पाए मात्र त्यो सम्भव छ’, अन्नपूर्ण पोस्ट्ले देशव्यापी रुपमा संकलन गरेको जनमतमा सबै सर्वसाधारणको समान धारणा छ, ‘नो खोप, नो भोट।’ अर्थात, खोप नल्याउने भए भोट पनि दिइन्न । ‘अहिले चुनावभन्दा उपचार प्राथमिकता हो। जनता अस्पतालमा छटपटिरहने तर नेता कुर्चीका लागि लडिरहने प्रवृत्ति राम्रो भएन’, बुटवलकी झरना अर्याल भन्छिन्, ‘चुनाव नै गर्ने हो भने जनता बचाउनुपर्छ।’
जति खोप आयो पहिला फ्रन्टलाइनमा काम गर्नेले पाए। ठीकै छ। त्यसपछि नेताहरू र पहुँचवालामा पुग्यो। ‘सांसद, मन्त्री, नेता सबैले खोप लगाए। तर, हामीजस्ता सर्वसाधारणले पाएकै छैनौं’, पाल्पा तानसेनकी गंगा ठडराई भन्छिन्, ‘मजस्ता लाखौं पीडितको एउटै आवाज हो, नो खोप, नो भोट।’
फुङलिङ–१, ताप्लेजुङका केवल मादेन चुनाव गर्ने भए केही पछि सारेर त्यसअघि सबै नागरिकलाई खोप दिनुपर्नेमा जोड दिन्छन्। ‘महामारीले मेरो गाँस खोसेको छ। कोरोना लाग्ला कि भनेर घरमै जोगिएर बसेका छौं’, उदयपुर त्रियुगा नगरपालिकाका रामप्रसाद चौधरी भन्छन्, ‘सरकारले खोप दिएर रोगबाट जोगायो भने भोट दिन जाउँला। नत्र त्यो विषयमा कुरै नगरौं। रोग र भोकबाट जोगाओस् अनि मात्रै भोट।’ स्रोत : अन्नपूर्ण पोस्ट्