महासंघ बाँकेले ल्यायो पत्रकार दुर्घटना बिमा

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका पत्रकारहरुका लागि पत्रकार दुर्घटना बिमाको योजना ल्याउने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले महासंघका सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशील रहेका अन्य पत्रकारका लागि समेत २ लाख रुपैयाँको दुर्घटना बिमा गर्ने निर्णय गरेको अध्यक्ष दामोदर भण्डारीले बताए । उनले पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उपचारमा सघाउ पु-याउने उद्देश्यले दुर्घटनामा घाइते भएका पत्रकारहरुले २० हजारसम्म उपचार खर्च पाउने र दीर्घकालीन रुपमा अपाङ्ग भएका तथा ज्यान गुमाएका पत्रकारलाई बिमाले २ लाख रुपैयाँ उपलब्ध गराउने बताए । महासंघका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा हालसम्म कोरोनाबिरुद्धको खोप लगाउन नपाएका पत्रकारलाई चाँडोभन्दा चाँडो खोपको व्यवस्था गर्न समेत सम्बन्धित पक्षसँग माग गरेको छ ।