खजुरामा उद्यम गर्ने युवालाई बिना धितो १५ लाख ऋण

खजुरा (बाँके) : खजुरा गाउँपालिकाले उद्यम गर्न चाहने युवालाई बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण दिने व्यवस्था गरेको छ ।
गाउँपालिकाले बुधबार पारित गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाको सिफारिसमा उद्यम गर्ने युवालाई १० देखि १५ लाख विना धितो ऋण वित्तीय संस्थामार्फत उपलब्ध गराउने कार्यक्रम छ । नागरिकलाई उद्यमशील र सीपमूलक बनाएर रोजगारीको अधिकतम् अवसर सिर्जना गरी गरिबी न्यूनिकरण गर्ने लक्ष्य छ ।
गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खजुरा समुन्नति मूल आधार उच्च सीपमुलक मानव संसाधनको विकास भएको भन्दै नागरिकको जीवनस्तरमा परिवर्तन गर्न उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्ने, कृषि क्षेत्रको व्यवसायिककरण आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्र विकासको नीति लिने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, समावेशी र सन्तुलित विकास प्रवर्द्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तर बनाउनेमा जोड दिएका छन् ।
खजुराले मूल नीतिका रुपमा औद्योगिक ग्राम निर्माण र प्रदेश विश्वविद्यालय स्थापना गर्न विशेष कार्यनीति ल्याएर कार्यान्वयन गर्ने, वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यक्रम कार्यान्वयन गर्ने कार्यक्रम छन् ।
कृषि, पशु पालनमा अनुदान, शिक्षामा शतप्रतिशत भर्ना, सेनिटरी प्याड, अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति, खेलमा वडा वडामा खेल गतिविधि, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन, अन्तर्राष्ट्रियस्तरमा सहभागी खेलाडीलाई सम्मान, स्वच्छ खानेपानीका लागि एक घर एक धारा, सांस्कृतिक र धार्मिक संरक्षण, लैंगिक समानताका लागि जेष्ठ नागरिक, महिला, बालवालिका लक्षित कार्यक्रम सञ्चालन, बालमैत्री वडा घोषणाका लागी आवश्यक सूचक पूरा गर्ने लगायतका कार्यक्रम छन् ।


उपाध्यक्ष एकमाया विकको सभाध्यक्षतामा बुधबारदेखि सुरु भएको गाउँसभामा अध्यक्ष कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डिल्लीप्रसाद रेग्मी, हजुरा बलले छलफलमा भाग लिँदै सुझाव पेश गरेसँगै नीति कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।