वातावरणीय विनासबारे स्प्रिङ डेलका विद्यार्थीको चिन्ता

नेपालगन्ज : जलवायु परिवर्तनका कारण भइरहेको वातावरणीय विनासबारे नेपालगन्जको स्प्रिङ डेल एकेडेमीका विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।
संविधान दिवसको अवसरमा देशभर विविध कार्यक्रम सञ्चालन भइरहँदा स्प्रिङ डेलका कक्षा ७ देखि १२ मा पढ्ने विद्यार्थी भने एकाबिहानै नेपालगन्जको सुर्खेतरोडस्थित डिभिजन वन कार्यालय बाँके पुगेर वातावरण संरक्षणका विषयमा चासो र चिन्ता गरे । उनीहरुले विद्यालयमा इको क्लब गठन गरेकाले अब वातावरण संरक्षणका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

विद्यार्थीले कार्यालय प्रमुख डिभिजनल वन अधिकृत राजु क्षेत्रीसँग अन्तरक्रिया पनि गरे । डिभिजन वन कार्यालयको संयोेजनमा स्प्रिङ डेलले आयोजना गरेको वातावरण संरक्षणका लागि अभिमुखी कार्यक्रममा प्रमुख क्षेत्रीले विद्यार्थीलाई वातावरण संरक्षणबारे जानकारी गराएका थिए । उनले अक्सिजनका लागि प्रति व्यक्ति कम्तीमा आठ वटा विरुवा आवश्यक पर्नेमा जोड दिएका थिए । उनले भने, ‘प्रति घण्टा हामी कम्तीमा १८ किलो अक्सिजन प्रयोग गर्छौं । एउटा रुखले साढे २ किलो मात्र अक्सिजन दिन्छ । त्यसैले हामीले कम्तीमा पनि ८ वटा विरुवा रोप्नुपर्छ ।’ कार्यक्रममा कक्षा १२ का विद्यार्थी दिव्यम्राज विष्टले समयमै आगलागी नियन्त्रण नहुँदा क्षति हुने गरेको बारेमा जिज्ञासा राखेका थिए । प्रमुख क्षेत्रीले एउटा आगलागी नियन्त्रण गर्न कम्तीमा चार पाँच घण्टा लाग्ने भएकाले मास आगलागी नियन्त्रण गर्न पर्याप्त जनशक्ति, साधन स्रोत र तालिमको खाँचो औल्याएका थिए ।

विद्यार्थीले वन कार्यालयको नर्सरी र बगैंचाको अवलोकन गर्नुका साथै वन कार्यालय परिसरमा विरुवा रोपेका थिए । विद्यालय नै इको क्लब भएकाले विद्यार्थीको माध्यमबाट वातावरण संरक्षणका लागि फोहरलाई मोहर बनाउने, विद्यालय, निकुञ्ज र सार्वजनिक क्षेत्रमा वृक्षारोपणलगायतका कार्यक्रम सञ्चालन हुने विद्यालयका प्रिन्सिपल शरद्चन्द्र रावलले जानकारी र्दिए ।