भेरीमा बर्दियाका ३ सहित ४ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाको राजापुरका दुई, बारबर्दियाका एक र दाङको दंगीशरण गाउँपालिकाका एक जनाको मृत्य भएको हो । बिहिबार बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ की ५२ वर्षीय संक्रमित महिलाको बिहीबार बेलुकी ७ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । असोज ८ गते पिसिआर परिक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई असोज १० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै राजापुर ८ का संक्रमित ३५ वर्षीय पुरुषको पनि बिहिबार राती ९ बजे भेरीमा मृत्यु भएको छ । असोज ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि ५ असोजमा भेरी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नभएपछि बिहिबार राती मृत्यु भएको हो ।
यसैगरी बिहिबार नै बारबर्दिया नगरपालिका वडा नम्बर ११ की ४२ वर्षीया महिलाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज १९ गते कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना भएकी उनको बिहीबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।
यस्तै कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएकी दंगिशरण गाउँपालिका वडा नम्बर १ दाङकी ३७ वर्षीया महिलाको पनि बिहिबार मृत्यु भएको छ । अस्पतालमा असोज १३ गते पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएपछि भर्ना भएकी उनको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय २३ जना र बाँकेका ३ सय ३५ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *