अझै गति लिएन आइसीपी निर्माण कार्यले

नेपालगन्ज : नेपालगन्जको जयसपुरस्थित २ अर्ब ३५ करोड नेपाली रुपैयाँको लागतमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणको काम सुस्त गतिमा भइरहेको छ । कोरोनाका कारण नाका ठप्प हुँदा निर्माण सामग्री आयातमा समस्या हुनुका साथै वर्षातको समयमा माटो पटानीलगायतले निर्माण कार्य असहज हुँदा गति लिन नसकेको निर्माण कम्पनीले जनाएको छ ।
भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर २५ नोभेम्बर २०२२ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारणले ढिलाइ हुँदा हालसम्म १५ प्रतिशत प्रगती भएको सहजीकरणको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका सूचना अधिकारी होमनाथ भुसालले बताए । पानी जम्ने स्थान भएकोले बर्षातको समयमा माटो पटानीलगायत कार्यमा ढिलाई भए पनि अब केही समयपछि निर्माण कार्यले गति लिने उनले बताए ।


जाँचचौकी निर्माण नहुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुने गरको छ । सबै सेवा एकीकृत रुपमा त्यहाँबाट सुरु हुने भएपछि भन्सार सुधारको अभियानलाई तिब्रता दिन मद्दत पुग्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारी बताउँछन् । ‘यसले अत्याधुनिक भन्सारको सपना साकार हुने छ’ उनले भने । आइसीपी निर्माण भएपछि दुई देशबीचको ब्यापार सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।