दशैं : नवरात्रको अन्तिम दिन महानवमी पर्व

नेपालगन्ज : महानवमी पर्व बिहीबार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा र दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।