आज दशैं, टीकाको साइत बिहान १० : ०२ मिनेटमा

नेपालगन्ज : आज बडा दशैं। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ वि।श्वभर मनाइँदैछ ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार दशैंको टीकाको उत्तम शुक्रबार बिहान १०ः०२ बजे रहेको छ । दशैंका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत रहेको अध्यक्ष अधिकारीले बताएका छन् । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ। विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ।
घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ। नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ।