३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, एक घाइते

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया शनिबार टीकापुर नगरपालिका वडा नं. २ विकासपुरमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक टीकापुर नगरपालिका वडा नं.१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार १८ वर्षीय केशव मगरको मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलमा सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते आशिषको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।