अविरल बर्षाले बाँकेमा खेतमै सुकाएको १० प्रतिशत धान नष्ट

बाँकेको जानकी गाउँपालिका–४ को कृषि फारम क्षेत्रमा काटेर सुकाएको वर्षाको पानीमा खेतमै डुबेको धान । फोटो : मेरो खुसी

नेपालगन्ज : अविरल वर्षाका कारण बाँके जिल्लाका ८ वटै स्थानीय तहको कूल धानमध्ये १० प्रतिशत खेतमै नष्ट भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा कूल धान खेती ३६ हजार पाँच सय हेक्टरमा हुन्छ । जसमध्ये २० प्रतिशत धान काटिएको छ । जिल्लाको कूल धान खेतीको १० प्रतिशत अर्थात ३ हजार ६ सय ५० हेक्टर धान काटेर किसानले खलिहानमा भिञ्याउन नपाउँदै खेतमै सुकाइएको अवस्थामा दुई दिनदेखिको वर्षाको पानीले डुबेको छ । यसअघि असोज महिनामा भएको वर्षामा धानमा भएको क्षति जोड्दा झन्डै ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।