वन मन्त्री हमाललाई सम्मान, ‘नेपालगन्जको विकासलाई प्राथमिकता राख्न ध्यानाकर्षण’

नेपालगन्ज : लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्ला बाँकेमा सम्मान गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले मन्त्री हमालको स्वागत तथा सम्मान गरेको हो । मन्त्री हमाललाई नगर प्रमुख डा. धवलशम्शेर राणा, उप–प्रमुख उमा थापा मगरसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले फूलमाला र खादाले सम्मान गरेका हुन् । कार्यक्रममा नगर प्रमुख राणाले यसअघि प्रदेश सरकारले नेपालगन्जलाई विभेद गरेको भन्दै अब नगरवासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए । उनले नगरबासीको नाताले नेपालगन्जको विकास निर्माणमा प्राथमिकता दिन पनि मन्त्री हमाललाई ध्यानाकर्षण गरेका थिए ।
नेपालगन्जमा रहेका तालहरुको स्तरउन्नती गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुख राणाले प्रदेश सरकारबाट ठूलो अपेक्षा राखिएको बताउनुभयो । उप–प्रमुख मगरले नेपालगन्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री हुनु अवसर भएको भन्दै हमाल मन्त्री भएपछि नेपालगन्जवासीका अपेक्षा बढेको र विकासले पनि गति लिने विश्वास ब्यक्त गरिन् । प्रवक्ता प्रमोद रिजालले राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने हमाल मन्त्री भएपछि जिल्लावासी नै खुसी भएको बताए ।
सो अवसरमा मन्त्री हमालले नेपालगन्जवासीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । प्रदेशका ठूला शहरलाई हरित शहर बनाउन योजना बनाइरहेको भन्दै उनले ठूला रुख रोप्नुपर्ने पक्षमा आफू रहेको बताए । बाँकेमा बोटानिकटल पार्क, जडिबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरोन्नतीलगायत नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रस्तुत मागहरु पूरा गर्ने बताए ।