सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीद्वारा टीकापुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

मानबहादुर ठकुल्ला । टीकापुर
सुदूरपश्चिम प्रदेश सरकारकाका तीन मन्त्रीले बुधबार कैलालीको टीकापुर क्षेत्रको बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भूमि व्यवस्था तथा कृषि मन्त्री विनिता चौधरीलगायतकाले टीकापुरको बाढी प्रभाबित क्षेत्रको निरीक्षण गरेका हुन् । मन्त्री सम्मिलित प्रदेश सरकारको टोलीले शाहीपुर, बनगाउ, बटनपुरलगायतका स्थानमा पुगेर बाढी प्रभावितलाई सान्त्वना दिएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री पूर्णा जोशी लगायतकाले बाढी प्रभाबित क्षेत्रमा तत्काल राहतको व्यवस्था मिलाइएको र क्षतिको विवरण लिएर उचित राहतको व्यवस्था मिलाउने बताइन् । भूमि व्यवस्था तथा कृषि मन्त्री विनिता चौधरीले किसानले लगाएको धान बाली भित्र्याउन नपाउँदै बाढीले नष्ट गरेकोले किसानलाई उचित राहतको व्यवस्था मिलाउने बताइन् । अब किसानको धान बाली को क्षतिको लगत संकलन गरि कस्तो किसिमको राहत उपलब्ध थियाृ गराउने भनी छलफल गरेर उचित क्षतिपूर्तिसहित राहत वितरण गरिने उनको भनाइ थियो । निरीक्षणमा मन्त्रीसँगै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआइजी पुरुषोत्तम कँडेल पनि सहभागी थिए ।
असोज ३१ गते साँझदेखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पूर्वी क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ । कर्णाली नदीमा पानीको बहाब निकै बढेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक बाढी र डुबानको चपेटामा परेका छन् । नदीको पानी बस्ती हुँदै घरमा पसेपछि हजारौ परिवार विस्थापित भएका छन् । वर्षाका कारण यति बेला सबैभन्दा मर्का किसानलाई परेको छ । खेतमा काट्न तयारी अवस्थामा रहेको धान र काटेर उठाउन मात्र बाँकी रहेको धान पुरै नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् । बाढीबाट टीकापुर नगरपालिका वडा न ५ का दौलतपुर शाहीपुर सिम्रेनी र वडा न ८ का बनगाउ, फाटा, बन्जरिया, सूर्यपुर, अर्नुवा ,कमलगाउँ कालिमाटी, कर्मिडाडा लगायतका हजारौं घर डुबानमा परेका छन । बाढीबाट ९४ बर्षिया करबिरे ढोलीको मृत्यु भएको छ ।