राजापुर नगरमा बाढीले धानबालीको भएको क्षतिको लगत संकलन सुरु

राजापुर : बर्दियाको राजापुर नगरपालिकाले भर्खरै अविरल वर्षापछि आएको बाढीबाट धानबालीमा भएको क्षतिको लगत संकलन सुरु गरेको छ ।
नगरपालिकाका सूचना अधिकारी/लेखा अधिकृत बसन्त मल्लले धानबालीमा भएको क्षति संकलन सुरु भएको बिहीबार सूचना प्रकाशित गरेका छन् । सूचनामा उनले किसानहरुसँग आग्रह गरेका छन्, ‘बाढीले धानबाली (धान कटानी गर्न बाँकी तथा कटानी गरिसकेको तर बाली भिञ्याउन बाँकी रहेको) मा पारेको क्षतिको विवरण संकलन भइरहेकाले प्रभावित क्षेत्रहरुमा खटिएका प्राविधिकले माग गरे बमोजिमको सत्य तथ्य विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ ।’
कर्णाली नदीको तटबन्ध फुटेर राजापुर क्षेत्रमा बाढीले नोक्सान गरेको छ । काटेको र काट्न बाँकी रहेको धानबाली नष्ट भएको छ । धानबालीको क्षतिबारे लुम्बिनी प्रदेश सरकारले पनि मन्त्री र सांसदलाई स्थलगत अनुगमन गर्न पठाएर राहातको व्यवस्था गर्ने जनाएको छ ।