नेपालगन्जका नगर प्रमुख राणाको निर्देशन, ‘योजनाका काम छिटो पूरा गर्नु’

नेपालगन्ज उप–महानगरपालिकाको विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठक । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले चालु आर्थिक वर्ष २०७८/७९ का योजनाको काम छिटो भन्दा छिटो पूरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार उप–महानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटो भन्दा छिटो गुणस्तरयुत्त mरुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिएका हुन् ।
नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारवाहीको प्रक्रिया तत्काल सुरु गर्न पनि निर्देशन दिएका छन् । राणाले नगरभित्र सञ्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगतिबारे जानकारी लिँदै अधुरा आयोजनाहरु पनि छिटो भन्दा छिटो सम्पन्न गर्न भनेका थिए । आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव्हान लगायतका बाँकी रहेका कामहरु पनि छिटो भन्दा छिटो सम्पन्न गरी छिटो काम सञ्चालन गर्न नगर प्रमुख राणाको आग्रह थियो । नगर उपप्रमुख उमा थापा मगरले नगरभित्र महत्वपूर्ण कामहरु सञ्चालन भइरहेको भन्दै निर्माण कार्यमा कुनै पनि खालको समस्या हुन नदिने गरी काम समयभित्रै हुने वातावरण बनाउन कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिएकी थिइन् ।