बाँकेमा पालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुँदै

नेपालगन्ज : जिल्ला खेलकुद विकास समिति बाँकेले आगामी शुक्रबारदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगितामा जिल्लाका ८ वटै स्थानीय तहका ८ वटा महिला टिम सहभागी हुने समितिले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक समितिका उपाध्यक्ष कृष्णा पाठकले जानकारी गराइन् । जिल्लामा महिला भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष मोहित शाहले पत्रकार सम्मेलनमा पत्रकारको जवाफ दिँदै भने, ‘वडा तहसम्म लुकेका प्रतिभाको खोजी गरेर जिल्ला स्तरीय महिला भलिबल टिम बनाउन प्रतियोगिता आयोजना गरेका हौं ।’ प्रतियोगिताको प्रथम टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्तवना स्थानका लागि १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ ।