जाजरकोटमा बस दुर्घटना, मृतक ५ जनाकै सनाखत

नेपालगन्ज : जाजरकोट जिल्लाको कुदु बराहचौरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु र २७ यात्री घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रिबस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । डीएसपी थापाका अनुसार कुशे ९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठाबिसकोट ५ रुकुम पस्चिमकी २४ बर्षकि सन्ध्या मल्ल शाही, नलगाड ३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठ्बिसकोट ४ निबासी ४ वर्षीय दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घर भै दीपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० बर्षका गगाराम यादवको मृत्यु भएको डीएसपी थापाले बताए । बस सडकभन्दा करिब १५० मिटर तल खसेको थियो । बसमा ३२ जना यात्रु सवार थिए । स्यालले बाटो काट्न खोजेपछि स्याल जोगाउन खोज्दा दुर्घटना भएको चालक चित्रबहादुर देनारले बताएका छन् ।