माओवादी केन्द्र डुडुवा गाउँपालिकाको अध्यक्षमा यादव र नेपालगन्जमा शाही निर्वाचित

रमेशकुमार यादव । वनकट्टी
नेकपा माओवादी केन्द्र बाँकेको डुडुवा गाउँपालिका कमिटीको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । केन्द्रको शनिबार सम्पन्न दोस्रो सम्मेलनले यादव नेतृत्वमा सचिव प्रेमकुमारी शाहीसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित गरेको हो ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका कमिटीको अध्यक्षमा रतन शाहीको नेतृत्वमा ८१ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद खत्री (प्रमेश) र वसन्त मल्ल, सचिवमा प्रेमबहादुर शाह, सह(सचिवमा नन्दलाल वैश्य र कोषाध्यक्षमा कश्मिरा खातुन निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्रको नेपालगन्ज, खजुरा र कोहलपुरको दोस्रो पालिकास्तरीय सम्मेलन पनि शनिबारबाट सुरु भएको छ । कोहलपुर सम्मेलनको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपालगन्ज नगर सम्मेलनको माओवादी केन्द्र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज हकिउल्लाह खाँ र खजुरा सम्मेलनको माओवादी केन्द्र बाँकेका अध्यक्ष एवं प्रदेश सांसद आइपी खरेलले उद्घाटन गरेका थिए । देशैभर एकसाथ सुरु भएको पालिकास्तरको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।