नेपालगन्जका विद्यालयमा दिवा खाजा कार्यक्रम पुनः सुरु

नेपालगन्ज : नेपालगन्जका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम सुरु गरिएको छ ।
कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा रोकिएको खाजा कार्यक्रम नेपालगन्जका विद्यालयले पुनः सुरु गरेका हुन् । दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीहरुको उपस्थिति बढ्ने र बिचमै कक्षा छोड्ने विद्यार्थीमा कमी आउने अपेक्षा रहेको नेपालगन्ज–२० थपुवाकोे जय जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले बताए । यसअघि खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा विद्यार्थीहरुको उपस्थिति बढ्नुका साथै बिचमै कक्षा छाड्ने प्रवृत्तिमा कमी आएको बताउँदै कार्यक्रमले अब पनि बालबालिकाको पढाइ सुधार हुने अपेक्षा गरेको छ ।

खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समितिले गाउँमा पाइने अर्गानिक पौष्टिक आहारको साप्ताहिक रुपमा खुवाइने तालिका बनाएको जनाइएको छ ।नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले नगरका ४२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको छ । दिवा खाजा कार्यक्रमको प्रभावकारिताका लागि नियमित रुपमा अनुगमन गरिरहेको उपमहानगरपालिकाका खेलकुद तथा शिक्षा महाशाखा अधिकृत लोकेन्द्र शाहीले बताए ।


सरकारले देश भरीका सामुदायिक विद्यालयमा सुरु गरेको दिवा खाजा कार्यक्रम बाँकेमा गत फागुनदेखि सञ्चालन भएको थियो । कार्यक्रम लागू भएपछि अधिकांश विद्यालयमा शिक्षण सिकाइमा सकारात्मक प्रभाव परेको विद्यालयले जनाएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा कार्यक्रम रोकिए पनि हाल अवस्था सहज बन्दै गएपछि कार्यक्रम पुनः लागू गरिएको छ । कार्यक्रमको प्रभावकारिताका लागि मापदण्ड अनुसार गुणस्तरीय पौष्टिक आहारयुक्त खाजा खुवाउनेतर्फ ध्यान दिन जरुरी छ ।