टीकापुर–भजनीका सीमा क्षेत्रमा चोरी तस्करी बढ्यो, भन्सारको राजस्व घट्यो

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलामा राजस्व संकलन घटेको छ । टीकापुर र भजनी क्षेत्रमा चोरी तस्करी बढे सँगै राजस्व संकलन दिनप्रतिदिन घट्दै गएको भन्सार कार्यालयले जनाएको छ ।
टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड ७२ लाख १४ हजार राजस्व संकलन गरेको थियो । भदौमा १ करोड ९० लाख ९ हजार, असोजमा १ करोड २० लाख २२ हजार, कार्तिक महिना १ करोड ९ लाख चौध हजार मात्रै राजस्व संकलन भएको भन्सारका प्राविधिक दीलिप कुवँरले बताए ।
प्रहरीको मिलेमत्तोमा चोरी तस्करी बढेको भन्सार कर्मचारीहरु गुनासो गर्छन् । गत वर्ष चोरी तस्करीका सामान प्रहरीले ब्यापक रुपमा नियन्त्रणमा ल्याएको थियो । १५० वटा त मुद्दा दर्ता भएको थियो । चालु आवको मंसिर १५ गतेसम्म ५९ वटा मात्रै चोरी तस्करीका मुद्दा दर्ता भएको सत्ती भन्सार कार्यालय खक्रौलाको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा लक्ष्मी विकले जानकारी दिइन् । साना तिना सामानका मुद्दा रहेको बिकले बताए । विकका अनुसार साउनान चोरी तस्करीका १७ वटा मुद्दा दर्ता भएका छन् । भदौमा १६ वटा, असोज महिना १२ वटा, कार्तिक १० वटा मंसिर १५ गते सम्ममा ४ वटा मात्रै चोरी तस्करीका मुद्दा प्रहरीले दर्ता गरेको छ । सत्ती भन्सार कार्यालयले चालू आर्थिक वर्षमा २० करोड राजस्व संकलनको लक्ष्य राखेकोमा पूरा नहुने देखिएको छ । गत वर्ष १५ करोड ४२ लाख राजस्व संकलन गरेको थियो । कैलालीको भजनी क्षेत्रको मरिया घाट, कुसुमघाट, कौवाखेडा , हिम्मतपुर बक्टरियाघाटलगायतका क्षेत्रबाट चोरी तस्करी बढेको स्थानीय बासिन्दाको बताउँछन् । भजनी नगरपालिका वडा न ५ लालबोझी स्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय २ वर्षदेखि सञ्चालन हुन नसक्दा सो क्षेत्रबाट चोरी तस्करी बढेको छ ।