कैलालीमा रासायनिक मलको अभाव

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–९ का कृष्णगोपाल चौधरीले रासायनिक मल बिनै गहुँ छर्न लागेको बताउँछन् । ‘मलका लागि धेरै दिन सहकारीमा दौडधुप गरे’, उनले भने, ‘मल पाउने आसैआसमा समय घर्किंदै गयो । मल नपाएपछि त्यत्तिकै गहुँ छर्न बाध्य भएको छु ।’
कयौं किसानले लुकिछिपी भारतबाट मल ल्याएर खेतमा हालिरहे पनि चौधरीले मल बिना नै गहुँ छरेको बताए ।
कात्तिक पहिलो साता आएको बाढीले धानबालीमा नोक्सान गरेपछि कयौँ किसानले यस वर्ष धान भित्र्याउन पाएनन् । भएको धानबालीमा बाढीले क्षति गरेपछि किसानहरूले गहुँखेती राम्ररी गर्ने सपना देखेका थिए । तर, गहुँ छर्ने सिजनमा रासायनिक मलको चरम अभावले किसानको मन खिन्न भएको छ ।
धानबालीमा क्षति भएपछि राहत दिने आश्वासन बाँडेको सरकार किसानको समस्याप्रति गम्भीर नरहेको भजनी ५, लालबोझीका कृषक अर्जुन साउँदले गुनासो गरे । उनले रासायनिक मल अभावमा गहुँ छर्न ढिलाइ भइरहेको बताए । नेपालमा मल उपलब्ध नभएपछि कतिपय किसानले लुकिछिपी भारतबाट डीएपी मल ल्याएर गहुँका लागि खेतमा हालिरहेका छन् । आफ्नो देशमा मल नपाएपछि लुकिछिपी भारतबाट ल्याउन बाध्य भएको उनको भनाइ छ । नेपालमा मलको हाहाकार भयो । नेपाली किसान सीमावर्ती भारतीय बजार पुग्न थालेपछि त्यहाँ पनि डीएपीको मूल्य बढाइएको साउँदले बताए ।
बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीको टीकापुर भजनी किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव भए पछि भौतारिदै मलको खोजीमा हिँडिरहेका छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् । किसानहरु स्थानीय स्तरमा रहेका सहकारीहरु धाउँदै हिड्न थालेका छन् भने कोही सीमा नाकामा भारतीय मल पाइन्छ कि भनी दौडिरहेका छन् । मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल छैन ।गहुँ खेतीका लागि मल नपाएपछि किसान समस्यामा छन् । समय घर्किरहेकाले मल बिनै खेतमा गहुँ छर्न लागेको उनीहरूको भनाइ छ ।
अहिले सुदूरपश्चिम प्रदेशभर नै मलको चरम अभाव छ । भैरहवाको प्रादेशिक कार्यालयबाट रासायनिक मल नपठाउँदा समस्या भएको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक रामकृष्ण चौधरीले बताए । उनले साउनदेखि नै ताकेता गर्दै आए पनि मल नपठाउँदा गहुँ खेतीको सिजनमा रासायनिक मलको अभाव भएको उल्लेख गरे ।