बाँकेसहित देशैभर मतदाता नामावली संकलन सुरु

नेपालगन्ज : निर्वाचन आयोगले शुक्रबारदेखि बाँकेलगायत देशैभरी फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको छ।
आयोगले बाँकेको खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा शुक्रबारदेखि पुस २ गतेसम्म नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिएका छन् । डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा भने पुस ४ गते देखी १८ गतेसम्म नामावली संकलन गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट तथा कोहलपुर नगरपालिकामा इलाका प्रशासन कार्यालय कोहलपुरबाट मतदाता नामावली संकलन गरिनेछ ।
मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ । मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।