अख्तियारमा भ्रष्टाचारका उजुरी धेरै पर्नेमा बाँके पहिलो

नेपालगन्ज : लुम्बिनी प्रदेशका चार जिल्ला मध्य सबैभन्दा धेरै भ्रष्टाचार बाँकेमा हुने गरेको एक तथ्याङकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमध्ये सबैभन्दा धेरै बाँकेका उजुरी दर्ता भएका हुन् । यो तथ्याँकले बाँकेमा धेरै भ्रष्टाचार तथा अनियमिता हुने गरेको अनुमान गर्न सकिन्छ ।


बाँके, बर्दिया, दाङ, र रोल्पा कार्यक्षेत्र रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा आर्थिक वर्ष ०७७/०७८ को पहिलो चौमासीकमा सवैभन्दा धेरै बाँकेमा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।
अख्तियार सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख विजय राज पौडेलका अनुसार चार जिल्लाका उजुरी मध्य बाँकेका दुई सय ६, दांङका एक सय ५८, बर्दियाका ८९ र रोल्पाका २१ वटा उजुरी छन् । चारवटै जिल्लाका १ सय ५९ उजुरीको छानविन सम्पन्न भएको छ भने तीनसय १५ उजुरी फछ्यौट हुन बाँकी रहेको उनको भनाई छ । कुल ४ सय ७४ उजुरी मध्य २ सय ७३ उजुरी गत आर्थिक बर्षमा फ्छयौट हुन बाँकी रहेका उजुरी हुन भने २ सय १ चालु आर्थिक बर्षको कार्तिक सम्म दर्ता भएका हुन ।

गत आर्थिक बर्षमा पनि अख्तियारमा परेका सात सय ७६ वटा उजुरीमध्ये बाँकेका सबैभन्दा धेरै तीन सय ४४ वटा उजुरी रहेका थिए ।