मायुस बर्दियाद्धारा ६ वटा खानेपानी ट्याङ्की निर्माण

शक्ति परियार । बर्दिया
स्वच्छ खानेपानी,दीर्घ जीवन भन्ने मूल नाराका साथ मानपुर युवा समाज (मायुस) बर्दियाले जिल्लाका विभिन्न पालिकामा ६ वटा खानेपानी ट्याङ्की निर्माण गरेको छ।

ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फन्ड बोर्ड) काठमाण्डौको आर्थिक सहयोगमा मायुसले बर्दियाको बार बर्दिया नगरपालिका स्थित लम्कीफाँटामा २, गेरुवा गाउँपालिकामा १, राजापुर नगरपालिका १० कोठीयाघाट झप्टीमा १, ठाकुरबाबा नगरपालिका ८ सुखाड सुतैयामा २ वटा गरी ६ वटा ट्याङ्की निर्माण गरेको हो ।

 

शनिबार बर्दियाको बार बर्दिया नगरपालिका वडा नं १० लम्कीफाँटामा निर्माण भएका २ वटा ट्याङ्कीको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।लम्कीफाँटा खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति भूपाल परियारले १ करोड ३१ लाख ४४ हजार ९ सय २५ रुपैयाँ आय र १ करोड ३१ लाख ४८ हजार ६ सय ३५ रुपैयाँ व्यय प्रस्तुत गरेका छन्। समितिको बैंक मौज्दात ३ हजार रहेको परियारले बताए ।कोरोना महामारीको जटिल समयमा स्वच्छ पानी पिउन आवश्यक रहेको भन्दै स्थानीयको जन श्रमदानमा ट्याङ्की निर्माणमा सहज भएको परियारले बताए। कोभिड संक्रमणका कारणले जारी बन्दबन्दिका कारणले समयमै निर्माण हुन नसकेको ट्याङ्की अबको केही दिनमै पूर्ण रूपमा सञ्चालनमा आउने मायुस् बर्दियाका अध्यक्ष शशीराम विकले बताए। खानेपानी ट्याङ्की निर्माण भए पछि लम्कीफाँटाका ७ सय ६० घरपरिवार लाभान्वित हुने भएका छन्।


खानेपानी अहिले परीक्षण भै रहेकाले अबको केही दिनमै पूर्ण सञ्चालनमा आउने समितिका अध्यक्ष परियारले बताए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बार बर्दिया वडा नं १० का अध्यक्ष निरञ्जन कुमार चौधरीले लम्कीफाँटाले विकासको गति तिब्र लिएको बताए । वडाले विभिन्न योजनाहरू क्रमागत रूपमा सञ्चालन गरी रहेको अध्यक्ष चौधरीले बताए। मायुस् बर्दियाका अध्यक्ष शशीराम विक विशिष्ट अतिथिको आसनबाट बोल्दै स्वस्थ जीवन जीउनका लागि स्वच्छ पानी पिउन जरुरी भएको भन्दै खानेपानीलाई पहिलो प्राथमिकता। दिएको बताए । घर घरमा खानेपानीको व्यवस्था भएपछि स्थानिय हर्षित भएका छन्।