दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न ३ माओवादी कार्यकर्तालाई २० वर्ष कैदको सजाय

नेपालगन्ज : द्वन्द्वकालमा दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई अपहरण गरी हत्या गर्ने तीन माओवादी कार्यकर्तालाई जिल्ला अदालत दैलेखले २० वर्षको कैद सजायँको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले मुख्य अभियुक्त अरुण भन्ने बमबहादुर खड्का, मुक्ति भन्ने बमबहादुर खड्का र केशव खड्कालाई २० बर्ष कैदको सजाय तोकेको हो । हत्यापछि शव गाडन सघाउने अभियुक्त भक्तिराम लामिछानेलाई ३ बर्ष कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार इन्द्र कार्कीले जनाए ।
मुक्ति भन्ने बमबहादुर खड्का र केशव खड्का अझै फरार छन् । अरुण भन्ने बमबहादुर खड्कालाई प्रहरीले पक्राउ परि पुर्पक्षका लागी थुनामा राखेको छ । अन्य अभियुक्तहरुको हकमा न्यायाधीश डिल्लीरत्न श्रेष्ठको पालाका फैसला भएको थियो । पक्राउ परेकाहरु कैद भुक्तान गरेर रिहा भइसकेका छन् ।
२०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले पत्रकार थापाको हत्या गरेका थिए ।अदालतको फैसलाबाट केही हदसम्म न्यायको अनुभूति भएको पत्रकार थापाकी पत्नी लक्ष्मी थापाले बताईन् । न्यायको लडाइले सार्थकता पाएको छ । अरु फरार अभियुक्त पनि चाँडो कानूनी दायरा आउन उनले भनिन्, सबै द्वन्द्व पीडितले न्याय पाउने वातवरण बनोस् । थापाले दर्ता भएर पनि त्यतिकै थन्किएर बसेका द्वन्द्वकालीन गैरन्यायिक हत्याका घटनाको प्रभावकारी अनुसन्धानको माग गरेकी छिन् । स्रोत : शिलापत्र डटकम