टोलमा विकास गर्ने वडा अध्यक्ष वर्मालाई सम्मान !

नेपालगन्ज : बाँकेको तेजनगरवासीले नेपालगन्ज–१८ का वडा अध्यक्ष दीपक वर्मालाई सम्मान गरेका छन् ।
तेजनगर टोल विकास समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष सूर्य केसी लगायतले वडा अध्यक्ष वर्मालाई सम्मान गरेका हुन् । टोल विकास समितिका अध्यक्ष केसीले तेजनगरमा पछिल्ला वर्षमा धेरै विकास निर्माणका योजना कार्यान्वयन हुन थालेपछि टोलबासी उत्साहित भएर सम्मान गरेको बताए ।
चालु आवमा तेजनगरमा वडा अध्यक्ष वर्माको पहलमा दुई वटा सडक पीसीसी भएको छ भने पक्की नालासहित ८० मिटर सडक कालोपत्रे सम्पन्न भएको छ । त्यसैगरी सोही टोलमा एक साताभित्रै हाइमास्ट लाइट जडान गर्ने तयारी छ । सोही टोलमा गत वर्ष ५० लाखको लागतमा नालीसहितको कालोपत्रे सडक निर्माण सम्पन्न भएको थियो । चालु आवमा तेजनगर टोलमा पक्कि नाला सहित सडक स्तरउन्नती, विद्युतका पोलमा स्टीटलाइट जडान तथा जेष्ठ नागरिक र योगका लागि समेत बजेट विनियोजन भएको छ । टोलबासीबाट सम्मान पाएपछि वडा अध्यक्ष वर्माले वडाको पूुरानो मध्येको तेजनगर टोलमा थप विकास निर्माणका योजना ल्याउन आफू प्रयासरत रहेको प्रतिक्रिया दिए ।