राजापुरका बाढी प्रभावित कुला नाला तटबन्ध गरिने

शक्ति परियार । राजापुर
बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बाढी प्रभावित कुला नाला सफाई तथा तटबन्ध निर्माणको कार्य गरिने भएको छ। राजापुर क्षेत्रका बुढिकुलो,रतैया नाला, मैला नाला र भदाली नालामा सफाई तथा तटबन्धको कार्य गरिने भएको हो ।
मंगलबार तयार नेपालले आयोजना गरेको विपद्पछिको सामाजिक आर्थिक पुनर्मिलन योजना कार्यक्रममा (एसडीआईसी) नामको संस्थाका परामर्शकर्ता होमनाथ गैरेले प्रस्तुत गरेको योजना मस्यौदामा सहभागीहरुले सबैभन्दा जोखिम राजापुर क्षेत्रका कुला नालाहरु रहेको बताएका छन्। गैरेले प्रस्तुत गरेको मस्यौदामा बाढी डुबानको आर्थिक नोक्सानी र असर,पुनर्निमाण र पुर्नलाभको आवश्यकता,जोखिम न्यूनीकरणको योजना, कोभिड १९ महामारीको असर र त्यसको आवश्यकता लगायत विषय थिए। सहभागीहरुले पश्चिम कर्णाली नदीबाट प्रभावित बाढी जोखिम क्षेत्रहरूमा जैविक तटबन्ध र मुहान व्यवस्थापन गर्न तर्फ लाग्नुपर्ने बताएका छन्। कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरी, उप प्रमुख मनकला कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी,तयार नेपालका लोक नारायण पोखरेल,बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी,विभिन्न वडाका अध्यक्ष प्रतिनिधि लगायतको उपस्थिति थियो ।