उच्चशिक्षा पढाउन राप्तीसोनारी गाउँपालिकाद्वारा छात्रालाई निःशुल्क साइकल वितरण

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु छात्रालाई आइतबार साइकल हस्तान्तरण गर्दै । फोटो सौजन्य : राप्तीसोनारी गाउँपालिका

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन निःशुल्क रुपमा साइकल वितरण गरेको छ ।
गाउँपालिका कार्यालय परिसरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लाहुराम थारुले छात्रालाई साइकल हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आइतबारबाट साइकल वितरण सुरु गरेको हो । गाउँपालिकाले सुरुमा ७ सय ५० साइकल खरिद गर्ने योजना बनाए पनि झण्डै एक हजार दुई सय जनालाई साइकल वितरण गर्ने तयारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्न करिव ६० लाख बजेट छुट्याइएको छ । गाउँपालिकाले आइतबार पहिलो दिन मात्र नेरा माध्यामिक बिद्यालय अगैया र सरस्वती माध्यामिक विद्यालय भवानीयापुरमा अध्ययनरत एक सय ९० जना छात्रालाई साइकल हस्तान्तरण गरिसकेको जनाएको छ ।