पोल्ट्री दिवसका अवसरमा खजुरा क्यान्सर अस्पतालका बिरामीलाई अण्डा वितरण

नेपालगन्ज : नवौं राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बिरामीहरुलाई अण्डा वितरण गरिएको छ । कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा शुक्रबार अस्पतालमा उपचाररत ३० जना बिरामी र ७ जना गर्भवती महिलाहरुलाई ४५० गोटा अण्डा वितरण गरिएको हो ।

कार्यक्रममा कुखुरा विकास फार्म खजुराका प्रमुख डा. शंकर न्यौपानेले अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइने भएकोले सुत्केरी र गर्भवतिले अण्डा खाएमा कुपोषणबाट बच्न सकिने बताए । खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणले समेत बिरामी, सुत्केरी र गर्भवतिले नियमित अण्डा सेवन गर्नुपर्छ भन्ने सन्देश दिन अण्डा वितरण गरिएको डा.न्यौपानेले बताए ।


हरेक दिन, अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वस्थ जीवन भन्ने नाराका साथ फार्मले दिवसको अवसरमा अण्डाको महत्व बुझाउने र यसको प्रयोग बढाउने उद्देश्यले निःशुल्क रुपमा अण्डा वितरण गरेको जनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष भक्तबहादुर केसी र निर्देशक कृष्ण आचार्यले अस्पतालका बिरामी, सुत्केरी र गर्भवतिलाई अण्डा वितरण गरेका थिए ।