बाँकेमा समृद्धिको आधार खोज्दै नेपालगन्ज उद्योग वाणिज्य संघ

नेपालगन्ज : बाँके जिल्लाको समृद्धिका लागि सरोकारवालाबीच छलफल सुरु भएको छ । ५४औं स्थापना दिवसको अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार नेपालगन्जमा समृद्ध बाँकेका आधारहरु विषय कार्यशाला आयोजना गरेर छलफल सुरु भएको हो ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्याकद्वय डा.राजेशकेशर खनाल, कोशराज रेग्मी र पत्रकार शंकरप्रसाद खनालले समृद्ध बाँकेका आधारहरु विषयक आधारपत्र प्रस्तुत गरेका थिए । आधारपत्रले उद्योग, वाणिज्य र पर्यटन क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाएर कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ग्रीन र डिजिटल सिटीलाई समृद्धिको आधारका रुपमा प्रस्तुत गरिएको थियो । सो अवसरमा उद्योगी, व्यापारी, पर्यटन व्यवसायी, अर्थशास्त्री र पत्रकारको ५ वटा समूहमा जिल्लामा समृद्धिको आधारका विषयमा समूहगत छलफल भएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, नेपालगन्ज औद्योगिक क्षेत्रका प्रमुुख कृष्ण पुन, कृषि ज्ञान केन्द्र बाँकेका बाली विकास अधिकृत सकिल अहमद, बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाह, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीलगायतले जिल्लामा समृद्धिका आधारबारे धारणा राखेका थिए । बहसको सहजीकरण पत्रकार झलक गैरेले गरेका थिए । नेपालगन्ज उद्योग वाणिज्य महासंघका महासचिव चिरञ्जीवी ओलीले कार्यशालाका विज्ञहरुले दिएको सुझावका आधारमा जिल्लाका समृद्धिका आधार तय गरेर सम्बद्ध निकायमा विकास निर्माणका लागि संघको नेतृत्वमा दवाब र पैरवी गर्ने बताए ।