आगलागीबाट पीडित २ व्यवसायीलाई नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा ८० हजार सहयोग

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जका २ वटा आगलागी पीडित उद्योगी र व्यवसायीलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संघको ५४औं स्थापना दिवसको अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपालगन्ज २ घरवारी टोलको हिमानी सु सेन्टरका मनिराम बटाला र पूर्णिमा एण्ड समीक्षा गार्मेटका पवित्रा बैदारलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद अन्सारीले जनही ४० हजार रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार मात्र आगलागी भएको नेपालगन्जको लुम्बिनी गार्मेन्ट उद्योगलाई पनि आवश्यक सहयोग गर्ने संघका महासचिव चिरञ्जीवी ओलीले कार्यक्रममा जानकारी गराएका थिए ।
सो अवसरमा संघले आयोजना गरेको उद्घोषण तालिममा प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउने क्रमशः सुनगाभा पोखरेल, सृष्टि अर्याल र गीतादेवी सुनारीलाई पुरस्कृत गरिएको थियो । संघको घरेलु तथा हस्तकला लगानी प्रबद्र्धन उपसमितिका संयोजक तथा संघ सदस्य उषा थापा भण्डारीका अनुसार उद्घोषण तालिममा २५ जनाको सहभागिता रहेको थियो । सञ्चारकर्मीद्वय ओविराज आचार्य र शशी सिंहले सहजीकरण गरेका थिए ।