एमाले बाँकेको जिल्ला अधिवेशन केपी ओलीले भर्चुअल माध्यमबाट गर्ने

नेपालगन्ज : नेकपा एमाले बाँकेको ८औं जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने भएका छन् ।
नेपालगन्जको पासाङ ल्हामु मार्गस्थित पार्टी कार्यालय परिसरमा शुक्रबार बिहान ११ बजे अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्ने बुधबार अधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए । देशका अधिकांश जिल्लामा शुक्रबार एकसाथ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष ओलीले गर्नेछन् । यसअघि वडा र पालिका अधिवेशनको पनि एक साथ ओलीले उद्घाटन गरेका थिए ।
अधिवेशनमा आयोजक ४९७ सहित वडा र जनसंगठनबाट एक हजार ३८३ जना प्रतिनिधि छनौंट भएका छन् । १२० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत् रुपमा चयन गर्न एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल र सह इन्चार्ज मोहम्मद हारुनलगायत जिल्ला नेताहरु लागेका छन् । वर्तमान अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, नेताहरु डिल्ली विसी, घननाथ खनाल, अशोक कर्माचार्य, गोपाल गिरी, सतिश निरौलाले जिल्ला अध्यक्ष पदमा दाबी गरेका छन् ।