सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट मृत्यु भएकी लीला विष्टको शव व्यवस्थापन गर्दै स्थानीय । फोटो सौजन्य : हेमन्त चौधरी

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ पर्सोना गाउँकी ५२ वर्षीया लीला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलका अनुसार बिहीबार बिहान जलहन सामुदायिक वनमा बाख्रालाई घाँस काट्न गएकी विष्टलाई पौने एक बजेतिर बाघले आक्रमण गरेको थियो । घाँस काट्न गएका ३ जना महिलामध्ये २ जना सकुशल घर फर्केका थिए । महिलालाई बाघले आक्रमण गरेको खबर पाएपछि प्रहरी र स्थानीयले खोजी गर्दा वनभित्र झन्डै ४ किलोमिटरभित्र महिलाको शव खोल्सामा राखेर बाघ भेटिएको थियो । बाघलाई धपाउन प्रहरीले २ राउण्ड हवाइ फायर गरेको थियो । यसअघि बुधबार पनि राप्तीसोनारी–४ की दुर्गा थारुलाई आक्रमण गरेको थियो । पात टिप्न गएकी उनले खुर्पाले बाघमाथि आक्रमण गरेर ज्यान जोगाएकी थिइन् ।

स्थानीय पत्रकार हेमन्त चौधरीका अनुसार केही दिन यता सो क्षेत्रमा पाटेबाघले स्थानीयका एक दर्जन बाख्रा खाइसकेको छ ।