जमुनाहा नाकामा एकैदिन ३७ जनामा कोरोना पुष्टि

नेपालगन्ज : नेपालगन्जको जमुनाहा नाकामा शुक्रबार मात्र भारतबाट आएका सबैभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार भारतका विभिन्न राज्यबाट आएका ३७ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजिन विधिबाट कोरोना परीक्षण गराउँदा बिहीबार २७, बुधबार र मंगलबार पाँच पाँच र सोमबार १० जना व्यक्तिमा कोरोना पुष्टि भएको थियो । सोमबार यता भारतबाट आएका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन जिल्लाको कूल कोरोना संक्रमणको ८९.३६ प्रतिशत हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लामा १० जना मात्र संक्रमित छन् । एक जना भेरी अस्पताल र अरु होम आइसोलेसनमा बसेका छन् ।