हिमालयन बैंकको ७४औं शाखा कञ्चनपुरमा
नेपालगन्ज : हिमालयन बैंक लिमिटेडले ७४औं शाखा कञ्चनपुरमा खोलेको छ ।
बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–६ चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरुसहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथप्रसाद कोइरीले बताएका छन् । योसहित बैंकका शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४८ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल छन् ।