‘वेष्टर्न ट्राभल मार्ट’को प्रमुख अतिथि राउटे मुखिया !

‘वेष्टर्न ट्राभल मार्ट’का विषयमा मार्ट सञ्चालन तथा व्यवस्थापन समितिले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलन
वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देल

नेपालगन्ज :  भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न बिहीबारदेखि सुरु हुने ‘वेष्टर्न ट्राभल मार्ट’को प्रमुख अतिथि ‘जंगलका राजा’ राउटे हुने भएका छन् ।
वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा पश्चिम नेपालमा पहिलो पटक भव्य रुपमा आयोजना गर्न लागिएको मार्टको उद्घाटन राउटे मुखिया सूर्यनारायण शाहीले गर्ने जानकारी दिए । लोगोमा पनि राउटे समुदायलाई समेटेर मार्टले अल्पसंख्यक तथा लोपोन्मुख राउटे समुदायलाई सम्मान गरेको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) च्याप्टर बाँकेको आयोजनामा बिहीबारदेखि नेपालगन्जमा तीन दिने ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन हुन लागेको हो । मार्टले नेपालगन्ज सहरलाई पश्चिम नेपालका साथै कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा प्रबद्र्धन गरेको छ ।
लुम्बिनी प्रदेशका बाँके, बर्दियाका साथै कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार दक्षिणी छिमेकी भारतसम्म बिस्तार गर्नका लागि लुम्बिनीपछि पश्चिममा पहिलो पटक मार्ट आयोजना गरिएको बताए । उनी भन्छन्, ‘नेपालगन्ज सहर र यसका आसपासका पर्यटकीय गन्तव्य, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, होमस्टे र कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गरी यस क्षेत्रका पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यले मार्टको आयोजना गरिएको हो । मार्टले पश्चिम क्षेत्रकै पर्यटकीय गन्तव्यको विकास र बिस्तारमा ठूलो सहयोग पुग्नेछ ।’
बागेश्वरी मन्दिर परिसरदेखि नेपाली कला, संस्कृति झल्कने झाँकीसहित मार्च पास गरेर बिहीबार बिहान नेपालगन्जको फोर स्टार होटल सिद्धार्थ भ्यूमा मार्टको उद्घाटन हुनेछ । उद्घाटनपछि स्वदेशी र विदेशी पर्यटकहरुलाई बागेश्वरी मन्दिर दर्शन, कर्णाली नदीमा राफ्टिङ, बाँके–बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी गराइनेछ । बर्दिया पुगेका पर्यटकलाई ठाकुरद्वारा र डल्ला होमेस्टेमा राखिनेछ । माउन्टेन फ्लाइटका रुपमा मुगुको रारा ताल, डोल्पाको से–फोक्सुण्डो ताल, हुम्लाको सिमकोट लगायतका कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यको अवलोकन गराइने तयारी छ । पर्यटकले नेपालगन्जका होटेल तथा क्यासिनोको पनि अवलोकन भ्रमण गर्नेछन् । नेपालगन्ज पछिल्लो समय क्यासिनो सिटीका रुपमा विकास भइरहेको छ । मार्टमा एक सय वटा स्टल हुनेछन् । ५० बढी भारतीय दुर अपरेटरका साथै दिल्ली, उत्तराखण्ड, लखनउ, बहराइच र रुपैडियाका कम्तीमा १५ बढी भारतीय पत्रकार, स्वदेशी पर्यटन व्यवसायी गरी झन्डै तीन सय जना सहभागी हुनेछन् ।