नेपालगन्जमा ३९ हजारलाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा ३९ हजार जनालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले सोमबार नेपालगन्जमा आयोजना गरेको पालिका खोप समन्वय समिति अभिमुखिकरण कार्यक्रममा कार्यालयका हेल्थ असिस्टेन्ट तेजबहादुर ओलीले आगामी २३ चैत्रदेखि २८ गतेसम्म खोप सञ्चालन गर्ने जानकारी दिए । ओलीका अनुसार नगरका २३ वटै वडामा गरी १५ देखि ५९ महिनाका बालबालिका १० हजार ३२५ जना र ५–१५ वर्षसम्मका २८ हजार ९०१ जनालाई खोप लगाउने लक्ष्य छ । नगरमा सबैभन्दा बढी खोपको वडा नं. ४ मा २ हजार ८०९ र वडा नं. १८ मा २ हजा ५१५ जनालाई र सबैभन्दा कम वडा नं. २३ मा ४२० जनालाई लगाइनेछ ।
देशभरी एकै चरणमा २५ चैत्रदेखि २०७९ वैशाख १८ गतेभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको छ । टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण भएको पाइएको छ । पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, प्रति १ लाख जनसंख्यामा एक हजार ६२ मा टाइफाइड संक्रमण भएको र १५ वर्ष मुनिका प्रति १ लाख जनसंख्यामा १० हजार ९६० व्यक्तिलाई टाइफाइड संक्रमण भएको पाइएको छ ।