‘गुराँसै फूल्यो वनैमा…’ गाउन एड्रियन प्रधान नेपालगन्ज आउँदै

गायक एड्रियन प्रधानको सांगितिक कार्यक्रबारे होटल सिद्धार्थले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम

नेपालगन्ज : ‘गुराँसै फूल्यो बनैमा…’, ‘फूलबुट्टे साडीमा…’, जस्ता लोकप्रिय गीत नसुनेका संगीतका पारखी कमै होलान् । यी गीत २५ वर्षअघि काठमाडौंमा स्थापना गरिएको चर्चित रक ब्यान्ड ‘१९७४ एडी’का लोकप्रिय गीत हुन् । यही ब्यान्डका चर्चित गायक एड्रियन प्रधान जनजिब्रोमा झुन्डिएका गीतका भाखा गाउन न्यु इयर इभ कार्यक्रममा आगामी ३० चैत्रमा नेपालगन्ज आउने भएका छन् ।
नेपालगन्जको चार तारे होटल सिद्धार्थले आयोजना गरेको ‘सिद्धार्थ न्यु इयर इभ २०७९’ मा ७ जना राष्ट्रिय कलाकारको नेतृत्व गर्दै एड्रियन प्रधान आउन लागेका हुन् । प्रधान रचनाकार एवं संगीतकार पनि हुन् । ‘१९७४ एडी’ ब्यान्डका ‘परेलीमा लुकाइ राख न’, ‘चौबन्दी चोली र ‘फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा…’ जस्ता दर्जनौ अजम्बरी र लोकप्रिय गीत जनजिब्रोमा छन् ।
होटल सिद्धार्थले नेपाली नयाँ वर्षलाई लक्षित गरेर आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिद्धार्थ बिजनेश ग्रुुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले कोरोना कहरको पीडा मेटाउने गरी चर्चित ब्याण्डलाई नेपालगन्जमा ल्याउन लागेको बताए । उनले भने, ‘कोरोनापछिको उल्लासमय वातावरणमा करिब ५०० जनामाझ हामी नयाँ वर्षलाई स्वागत गर्दैछौं ।’ कार्यक्रममा डीजे बी–क्यास र नेपालगन्जका गीतसँगकुन्त ब्याण्डको पनि प्रस्तुती हुनेछ ।
होटल सिद्धार्थले हरेक नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न कलाकारहरु सहित कार्यक्रम गर्दै आएको छ । गत वर्ष नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा प्रमोद खरेल, अलिना चौहान, हास्य कलाकार सुमन कोइराला र चालु अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा प्रकाश सपुत, स्वपना सुमन साहित्य डीजे र ब्यान्डबाट भरपूर मनोरञ्जन प्रदान गरिएको थियो ।
लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुकभर २७ वटा होटल, रिसोर्ट, क्याफे, आतिथ्य संस्थान, ट्रेड मार्टलगायत सञ्चालित छन् ।