मापसे गरेर गाडी चलाए कारबाहीमा परिएला है !

नेपालगन्ज : स्थानीय तह निर्वाचन नजिकिँदैछ । रातिको समयमा मोटरसाइकल वा कारमा यात्रा गरिहेको बेला मत माग्न वा मत प्रभावित गर्न साथीभाइले रमाइलोे गरौं भन्लान् । मदिरामा मस्त भएर सवारी चलाउँदा दुर्घटनाको जोखिम त हुन्छ नै । प्रहरीले मापसे चेकिङ अभियान सुरु गरेकाले कारबाहीमा पनि परिएला है ?

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी ऐनबहादुर मल्लका अनुसार शुक्रबार राति ७ बजेदेखि १० बजेसम्म कोहलपुर नगरपालिका–११ क्षेत्रमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका ४० सवारी साधनलाई कारबाही गरिएको हो । उनले भने, ‘४० हजार रुपैयाँ राजस्व संकलन पनि भएको छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इप्रका कोहलपुरको संयुक्त टोलीले प्रति सवारी एक हजार रुपैयाँका दरले जरिवाना गरेको छ । दुर्घटना न्यूनिकरण गर्न मापसे चेकिङलाई निरन्तरता दिने डीएसपी मल्लले बताए । शुक्रबार नै खजुराको धनौली, बैजनाथको सम्झना चोक र रत्नराजमार्गको गनापुर क्षेत्रमा थप १९ जना मापसे कारबाहीमा परेका थिए ।