दुर्गा मूर्ति विसर्जनमा हतियार प्रदर्शन र चर्को डिजे बजाउन रोक

​रमेशकुमार यादव । कम्दी
हिन्दू धर्मावलम्बीहरूको महान चाड बडादशैैंको दुर्गा मूर्ति विसर्जनमा हतियार प्रदर्शन र चर्को आवाजमा डिजे बजाउन नपाइने भएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. ४ र ५ का जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयको मंगलबार बसेको संयुक्त बैठकले राप्ती नदीमा दुर्गा मूर्ति विसर्जनका क्रममा अनावश्यक हातहतियार प्रदर्शन गरी वातावरणलाई त्रसिद बनाउने र घटना हुने सम्भावनालाई मध्यनजर गर्दै कसैलाई पनि हातहतियार प्रदर्शन गर्न नदिइने निर्णय भएको छ। बैठकले अटेर गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने पनि निर्णय गरेको छ । त्यस्तै मूूर्र्ति बिसर्जनका बेला अनावश्यक चर्को आवाजमा डिजे बजाउन समेत रोक लगाइएको छ।​नौरात्र अवधिभर पूजा प्रतिष्ठामा खलल पार्ने कार्य भएमा इलाका प्रहरी कार्यालय बनकट्टीलाई तुरुन्त जानकारी गराउने पनि निर्णय भएको छ।
​सिधनीया क्षेत्रमा जिल्लाभरिकै दुर्गा मूर्ति विसर्जन हुने भएकोले उक्त दिन सवारी साधनहरूको अत्यधिक चापलाई ध्यानमा राख्दै पूर्वमा अगैयादेखि पश्चिममा नेपालगन्ज बसपार्कसम्म मूर्ति विसर्जनको दिन यातायात रुट बन्द गर्नका लागि सुरक्षाकर्मीलगायत सम्बन्धित निकायलाई जानकारी गराउने निर्णय पनि गरिएको छ।
बैठकमा डुडुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सगीर खाँ, वडा नं. ५ का वडा अध्यक्ष झंकबहादुर थापा, इप्रका इन्चार्ज प्रहरी निरीक्षक प्रेम बिक लगायत, वडा क्षेत्रका दुर्गा मूर्ति समितिका पदाधिकारीहरू, नागरिक समाजका प्रतिनिधि, बुद्धिजिवी, स्थानीय जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।