२८ क्युफिट सालको अवैध काठसहित २ पक्राउ

रमेशकुमार यादव । गेगली
बाँकेको नरैनापुरबाट प्रहरीले सालको अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार नरैनापुर गाउँपालिका ३ को श्री सवनम हरियाली उपभोक्ता सामुदायिक वनबाट अवैध रुपमा डल्लबमा सालको काठसहित स्थानीय ५१ वर्र्षका बड्कउ जोलाह र ३० वर्षका मेराज जोलाहलाई दुई वटा डल्लबमा अवैध रुपमा ल्याइरहेको सालका ५ वटा चौपट्टासहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको काठ २७.७४ क्यूफिट रहेको प्रहरीले जनाएको छ । सामुदायिक वनबाट सालको काठ तस्करी भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख सुनार र प्रहरी चौकी कालाफाँटाका प्रहरी नायब निरीक्षक रामबहादुर कटुवालको टोली सामुदायिक वनमा पुगेको थियो । प्रहरीले बरामद गरिएको काठ र नियन्त्रणमा लिएका दुबै जनालाई थप कारबाहीका लागि नरैनापुरस्थित सव डिभिजन वन कार्यालयमा बुझाएको छ ।